काठमाडौं, ६ असोज : हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् ।
क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।
निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए । राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन् ।