आज विश्व मुटु दिवस : स्वस्थ मुटु, स्वस्थ जीवन, रोग लाग्नबाट बचौँ !

admin

काठमाडौं, १३ असोज : आज (बुधबार) विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । यो वर्षको विश्व मुटु दिवसको नारा ‘युज हर्ट टु कनेक्ट’ भन्ने रहेको छ । दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्ने उपायबारे चेतनामूलक कार्यक्रम हुने गरेको छ ।

यस वर्ष सबैसँग सम्पर्क गरी मुटुमैत्री जीवनशैलीको माध्यमबाट मुटुलाई स्वस्थ बनाउन सबैलाई प्रोत्साहित गर्नेतर्फ नारा र कार्यक्रमहरू केन्द्रित छन् । नेपालमा पछिल्लो समय अस्वस्थ तथा असन्तुलित खानपान, विलासी जीवन र लापरबाहीका कारण मुटु रोगका बिरामी बढ्दै गएका छन् । नेपालमा २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङ्क छ ।

मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ । १०-१५ वर्ष अगाडि ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा र बालबालिकालाई नै मुटु सम्बन्धी समस्या देखिन थालेको डाक्टरले बताएका छन् । धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा रोगले च्यापेको मुटुरोग विशेषज्ञ डाक्टरहरु बताउँछन् । खानपान र जीवनशैलीमा ध्यान दिए, वर्षमा एक पटक भए पनि स्वास्थ्य परीक्षण गरे मुटु रोगबाट बच्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ । नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलेस्टेरोल छ । यस्तै, १० प्रतिशतलाई मधुमेह छ । जाँड रक्सी तथा चुरोट सुर्ती नखाए, चिल्लो, पिरो, बोसो, भुटेका र तारेका खानेकुरा नखाए मुटुलाई जोगाउन सकिन्छ ।

यस्तै, हरियो सागपात धेरै खाने, प्रशस्त पानी पिउने, पोषणयुक्त सन्तुलित खाना खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् । यस्तै, अहिले कोरोना भाइरसको संक्रमणका कारण मुटुरोग भएका बिरामी बढी समस्यामा परेका छन् । बेलैमा उपचार नपाउँदा केहीको ज्यान गएको छ । सरकारले मुटुरोगीलाई एक लाख रुपैयाँ बराबरको औषधि र उपचार निःशुल्क गरेको छ ।

हाल नेपालमा विद्यमान मुट रोगहरूमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन् । मुटुका रोगमध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ । यसको प्रमुख कारणका रूपमा मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ ।

आजका मानिसहरूको जीवनशैली अस्वस्थकर भएको छ । मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ । धूमपान, मद्यपान, खानामा चिल्लो र मासुको प्रयोग बढेको छ । सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ । तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ । बढ्दै गइरहेको मुटुरोगको समस्यालाई रोकथाम गर्न जनचेतना जगाउने साथै विश्वभरका राष्ट्रहरूका नीतिनिर्माताहरूलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीतिनियमहरू बनाउन घच्घच्याउन अति जरुरी देखिन्छ ।

यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मुटु दिवस मनाउने चलन चलाएको हो । धेरै मानिसलाई आफ्नो मुुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हुँदैन । किनकि उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन् । यस्तै प्रकारले धेरैलाई मुटु रोगका कारक तत्त्वहरूबाट आफू प्रभावित भए, नभएको बारे जानकारी राख्नुपर्छ। यसबाट मुक्त हुने उपायहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन । यो चेतना अभावको कारण बहुसंख्यक मानिसको हृदयघात र मस्तिष्कघातबाट मृत्यु भइराखेको छ ।

प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ त्यो थाहा पाई राख्नुपर्छ । यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ । मुटुका लागि जोखिम तत्त्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूमपान गर्ने बानी, वंशानुगत र व्यायामको कमी आदि प्रमुख हुन् । यदि कसैलाई यी समस्याहरू छन् भने तुरुन्त यसबाट छुटकारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनु पर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ । अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मृत्यु हुन सक्छ ।

मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन् । अध्ययन अनुसन्धानले देखिएको छ कि जीवनशैली परिवर्तनबाट मात्र पनि ८० प्रतिशत भन्दा बढी मुटु रोगका कारणहरू माथि नियन्त्रण गर्न सकिन्छ । यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउनेतर्फ लक्षित हुनुपर्छ । सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले मुटुमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानुपर्छ ।

यसै सन्दर्भमा विश्व मुटु महासंघले विश्वका जनतालाई मुटु रोगबाट बच्नका लागि निम्नलिखित सन्देशहरू जारी गरेको छ । यसलाई सबैले पालना गरी आफ्नो मुटुलाई स्वस्थ राख्ने प्रयास गरौं ।

– आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ। स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जचाउनुका साथै पेटको नाप र मोटोपनबारे पनि जानकारी लिनुपर्छ ।

– आफूलाई रहेको खतराबारे जानकारी पाएपछि स्वास्थ्यकर्मीसँग यी खतराहरूबाट मुक्त रहन के कसो गर्ने हो त्यसबारे परामर्श लिनु पर्छ ।

–  हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप हो जसको कुनै लक्षण हुँदैन। औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन । यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्टेरोल बढेको छ छैन भन्नेबारे पनि थाहा पाउन नियमित रूपमा रगतको परीक्षण गराउनु पर्दछ ।

–  नियमित व्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्नेतर्फ लाग्नु पर्छ ।

– दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानु पर्छ ।

–  धूमपान निषेधित सार्वजनिक स्थलहरू विस्तार गर्दै जान सम्बन्धित निकायले सहयोग गर्नुपर्छ ।

–  तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनु पर्छ ।

– बढी गुलियो नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) को उपभोग कम गर्नु पर्छ ।

–  मानसिक तनाव र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ ।

-आफू प्रसन्न, सन्तुष्ट, सहयोगी र दानी प्रवृत्तिको हुन सके सुख र स्वस्थ्य दुवै पाउन सकिन्छ ।

प्रतिक्रिया