बालबालिकाका लागि एक करोड खोप सुनिश्चित गरिएको छ, बैशाखसम्म सबैलाई खोप लगाइ सक्छौँ : स्वास्थ्य राज्यमन्त्री

admin

काठमाडौं, १३ असोज : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिए ।

विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अहिले दैनिक तीन लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो झण्डै तीन महिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताए ।

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटु रोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिकाभित्र साढे ३२ किलोमिटर साइकल ट्र्याक बनाएको जानकारी दिए । उनले साइकल चढेर नागरिकहरूले शारीरिक व्यायाम गरून् भनेर ललितपुर महानगरपालिकाभित्रको चक्रपथमा १५ दशमलव आठ किलोमिटर साइकल ट्र्याक बनाउने योजना तय गरेको समेत बताए ।

कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्नायु रोग विशेषज्ञ डा. वसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया