अहिलेसम्म नेपालले एक करोड ७८ लाख डोज कोरोनाविरुद्धको खोप प्राप्त गर्‍यो

admin

काठमाडौं, १३ असोज : नेपालले अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप एक करोड ७८ लाख ५८ हजार सात सय १० मात्रा (डोज) प्राप्त गरेको छ । नेपालले प्राप्त गरेका खोपमध्ये सबैभन्दा धेरै चिनियाँ खोप भेरोसेल एक करोड १९ लाख मात्रा रहेको छ ।

यस्तै कोभिशिल्ड खोप २४ लाख मात्रा, बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० मात्रा रहेको छ । साथै जोनसन एन्ड जोनसन खोप १५ लाख ३४ हजार आठ सय ५० मात्रा प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले अहिले दैनिक तीन लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने काम गरिरहेको बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आउँदो बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने पनि बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिए ।

त्यस्तै बितेको २४ घण्टामा दुई लाख ८६ हजार एक सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशव्यापी चलिरहेको खोप कार्यक्रमअन्तर्गत बितेको २४ घण्टामा लगाइएको खोपसँगै पूर्ण मात्रा खोप लगाउनेको संख्या ६२ लाख ३८ हजार एक जना पुगेको छ । ७२ लाख १४ हजार सात सय ४२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया