आज पनि एमालेको अवरोधकाबीच महालेखा परीक्षकको प्रतिवेदन पेस भएसँगै बैठक स्थगित

admin

काठमाडौं, १४ असोज : बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच महालेखा परीक्षकको प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।

बैठक सुरु हुनासाथ बिहीबार पनि प्रतिपक्षी दल एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरोध नगरिकन सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरे । उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधि सभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराएका थिए ।

अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए । प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ छन् ।

नेकपा एमालेले अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गरिराखेको छ । अब प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया