अहिले पनि जबज सान्दर्भिक छ, विकासका कार्यक्रमहरु अघि लिएर जानुपर्छ : बादल

admin

काठमाडौं, १४ असोज : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जनताको बहुदलीय जनवाद (जबज) जनवादी कार्यक्रम भएकाले अहिले पनि सान्दर्भिक भएको बताएका हुन् ।

उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताए । उनले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए । स्थायी कमिटी सदस्य थापाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन पेस हुने बताए ।

उनले उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमहरू जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने धारणा राखे । स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए ।

उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए । स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताए । थापाले भने, ‘जबजको कार्यक्रमा त्यसबेला जनवादको कार्यक्रम थियो र समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो, त्यसैले तीनवटा कार्यक्रमका विशिष्ट रुपहरु नै जबजको कार्यक्रम हो ।’

उनले जबजबारे स्पष्ट पार्दै थप भने, ‘जनवादी क्रान्ति सम्पन्न गरेर गणतन्त्रको स्थापना गरिसकेपछि सामन्तवादका अवशेषहरूको अन्त्य गर्ने कार्यक्रमहरु लागू गर्नुपर्छ भन्ने कुरा त्यसैबेला तय गरिएको थियो जबजको कार्यक्रमको रुपमा । यो २०४९ सालको कुरा हो, यसलाई पाँचौँ महाधिवेशनमा मदन भण्डारी कमरेडले प्रस्तुत गर्नुभएको थियो । दोस्रो, क्रान्तिकारी उपलब्धिहरुलाई सुदृढ गर्ने र नेपाललाई द्रुत गतिमा विकास गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रम हो ।’

यस्तै थापाले एकैपटक समाजवादी क्रान्ति सम्पन्न गर्न नसक्ने हुनाले त्यसका लागि पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘समाजवादमा अघि बढ्नको निम्ति त्यसको पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, त्यसका भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ, त्यसकारण राजनीतिक उपलब्धिहरुलाई सुदृढ गर्ने र देशको राष्ट्रिय पूँजीको विकास गर्ने कुराहरुलाई अगाडि सारिएको थियो, त्यो अहिले पनि सान्दर्भिक छ र अहिले पनि उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु अघि लिएर जानुपर्छ ।’

प्रतिक्रिया