एमाले महाधिवेशनको चहलपहल : ओलीलाई सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ गरिने

admin

काठमाडौं, १५ असोज : नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन (आज) शुक्रबारदेखी सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई वेवास्ता गर्दै एमालेका करिब ६ हजार प्रतिनिधि सम्मेलनस्थलमा सहभागी हुँदैछन् ।

यसैक्रममा शुक्रबारदेखि सुरू हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर महाधिवेशन स्थलसम्म पुर्‍याइने भएको छ । एमाले सांसद महेश बस्नेतले ओलीलाई सातदोबाटोदेखि गोदावरीसम्म सयौं गाडी र मोटरसाइकलले स्कर्टिङ गर्ने जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्रीबाट हटेका ओलीलाई असार ३० गते सांसद बस्नेतको नेतृत्वमा बालुवाटारबाट बालकोटसम्म गाडी र मोटरसाइकलले स्कर्टिङ गरेका थिए । ओलीले शुक्रबार मध्यान्ह ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो ।

यसैगरी विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ । हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो । महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरतपुर विज्ञापन गरेको छ ।

विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । यसबाट एमालेमा विचारको बहसभन्दा पनि नेताको ‘देवत्वकरण’ ले प्रश्रय पाएको बुझ्न सकिन्छ । बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।

यसअघि केपी ओली सरकारमा रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिनपनि यसैगरी बिजुलीका पोलमा ओलीका तस्बिर सजाइएका थिए । जसबापत नेकपा एमालेमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी नभएर नीतिमुखी हुने बताएको छ ।

आगामी मंसिरमा हुने दशौं महाधिवेशनले नेतृत्व चयन गर्ने भनिए पनि यो महाधिवेशन नीति निर्माणमै केन्द्रीत हुने नेताहरुले बताएका छन् । तस्बिरमा मात्र होइन, ओली कार्यक्रममा जाँदा उनलाई एमालेका कार्यकर्ताले काठमाडौंदेखि नै ‘स्कटिङ’ गरेर कार्यक्रमस्थल पुर्याउँदैछन् । एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ ।

प्रतिक्रिया