एमाले संसद् चल्न नदिने रणनीतिमा, ‘पोलिटिकल डेडलक’ तोड्न तयार देउवा, माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

admin

काठमाडौं, १५ असोज : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो । आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन् ।

प्रधानमन्त्री हुँदा पनि उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए। उनको कदमलाई दुईपटक नै सर्वोच्च अदालत अवैध ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो । ओली अहिले पनि संसद् चल्न नदिने रणनीतिमा छन् । पार्टीका असन्तुष्ट १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै एमालेले संसद् चल्न दिएको छैन ।

सत्ताबाट बाहिरिनुपरेको आक्रोश एमालेले संसद् बैठक चल्न नदिएर पोखेको कांग्रेसका एक नेताले बताए । ‘माधव नेपालसहित १४ जनालाई कारबाही गरिएन भन्ने एमालेको बहानामात्र हो,’ ती नेताले भने, ‘पाँच वर्ष ढुक्कले सत्तामा बसिन्छ भन्ने थियो । तर उहाँहरू आफ्नै कारणले सत्ताच्युत हुनुभयो। त्यसको आक्रोश पूर्वप्रधानमन्त्री ओलीमा देखिन्छ ।’

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार
सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् ।

सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताइन् । ‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ, उहाँ संसद्को गतिरोध अन्त्य गर्न चाहनुहुन्छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले बताइन् ।

कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवाद चाहेको बताए । ‘प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक डेडलक अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवादको प्रक्रिया अघि बढाइरहनुभएको छ, एमालेका दोस्रो तहका नेताहरूसँग अझै पनि सत्ता पक्षले त्यो प्रयासलाई जारी राखेको छ,’ नेता विश्वकर्माले भने । उनले सर्वदलीय बैठकसमेत एमालेसँगको संवादकै आधारमा तय भएको र अन्त्यमा सो दलबाट बैठकमा सहभागिता भने नभएको बताए ।

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ । अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए ।

‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने । प्रचण्डले थपे ‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ। त्यही लिम्पिया माओलाई गोली हान्न गयो । त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन ।’ – आजका दैनिक पत्रपत्रिकाबाट

प्रतिक्रिया