नेपालमै कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण सुरु

admin

काठमाडौं, १५ असोज : कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिइन् । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिइन् ।

डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताइन् ।

निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिइन् । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ । डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो ।

प्रतिक्रिया