रुघा खोकीका कारण ओलीले सम्बोधन भाषण टुंग्याउन सकेनन्, एमालेमा उपमहासचिव पद नै खारेज !

admin

काठमाडौं, १५ असोज : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।

‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए, जसले ७४ पछि मेरो नेतृत्वको असफल बनाउन उसैगरी घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे’, सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।

‘आफैले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेश गरियो । यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो’, ओलीको भनाई छ ।

यस्तै अध्यक्ष ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् । उक्तमहाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले आफुहरु एमालेमा नै क्रियाशील हुनुपरेको बताए । उनले नेकपा विभाजन भएपनि एमालेले नेकपाको विरासत बोकेको बताए ।

यसैगरी अध्यक्ष ओलीले एमाले नेकपाको विदेश नीतिमा कसैसँग वैरभाव नहुने बताएका छन् । सोही महाधिवेशनलाई सम्बोधन गर्दै आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘हाम्रो विदेश नीतिको सार राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन गर्दै सबैसँग मित्रता कायम गर्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’ उनले विश्वका सबै देशसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक सहयोग तथा सम्मानमा आधारित सम्बन्ध रहने बताए ।

उनले नेपालको छविलाई शान्तिको पक्षधरका रुपमा विश्वसामु स्थापित गर्ने पनि बताए । नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् । सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए । लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।

यसअघि विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा पाँच जना उपाध्यक्षको व्यवस्था गरिएको छ । त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो । यता पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव नै गरिएको छैन । पौडेलको प्रस्तावमा ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ ।

अहिले एमालेमा ५ जना सचिव रहेका छन् । प्रस्तावमा केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ । विधान महाधिवेशनमा उपमहासचिव पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका छन् । नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । पौडेलको प्रस्ताव हलले ताली पिटेर पारित गरेको छ ।

प्रतिक्रिया