राष्ट्रपति भण्डारीद्वारा जनहितका योजना अघि बढाउन सुझाव

admin

काठमाडौं, १५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुसार उपलब्ध साधन–स्रोतको पहिचान एवम् परिचालनको सामर्थ्य आकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छिन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार काठमाडौंमा सुरु गर्दै उनले देशको सर्वाङ्गीण रूपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्छ भनिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउनुपर्छ । विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने, संक्रमण अन्त्य भइ नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।’

यस्तै आयोजक संस्था महासङ्घकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिइन् । उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुनासो गरे ।

उनले जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुगमन गर्ने एजेन्सीका रूपमा स्थापित गर्न आवश्यक रहेको तर्क प्रस्तुत गरे । त्यस्तै नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूले सङ्घ र प्रदेश सरकारको तुुलनामा नागरिकका हितका लागि पालिकाले न्याय निरूपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको बताए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रूपमा रहेका पालिकाले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानुनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गरे ।

राष्ट्रिय परिषदमा देशका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुझाइ स्थापित गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुस्तकको लोकार्पण गरिन् ।

प्रतिक्रिया