प्रतिपक्षीकाे व्यवहारले लोकतन्त्र खतरामा : नेता पाैडेल

admin

काठमाडौं, १५ असोज : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन्।

‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ। तर, हुनुपर्ने रूपान्तरणको हो,’ पौडेलले प्रश्न गरे, ‘अहिलेको पार्टी सञ्चालन कसरी भइरहेको छ, यो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्त्रण?’ उनले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यक हुने भन्दै पार्टीका नेताहरूले बहसलाई ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताए।

‘यदि पार्टीमा सबै संगठनहरू परिचालन हुन सकेको भए, समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेको भए, पार्टी विचारबाट सञ्चालन भएको भए, रूपान्तरणको आवश्यकता हुने थिएन,’ पौडेलले भने, ‘जव रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन। त्यसैले आजको आवश्यकता रूपान्तरण हो, युवा साथीहरू भ्रममा नबस्नुहाेला।’

उनले कांग्रेसलाई लोकतन्त्रको मुल मार्गमा हिँडाउन विचारले पार्टी र राज्य सञ्चालन हुनुपर्ने बताए। पौडेलले अहिले प्रतिपक्षीकाे व्यवहारले लोकतन्त्रमा खतरा देखिएको बताए।

‘लोकतन्त्रमा जति विपक्षी दलहरू जिम्मेवार हुन्छन् त्यति नै लोकतन्त्र बलियो हुन्छ,’ पौडेलले भने, ‘हाम्रोमा प्रतिपक्ष जिम्मेवार छैन। सदन प्रतिपक्षको हो। तर, त्यो सदनलाई प्रतिपक्षले नै अवरुद्ध पारेर बन्धक बनाएर राखेको छ। संसद् बाहुबलीको बन्धक बन्ने अनि कसरी लोकतन्त्र समृद्ध हुन्छ?’

प्रतिक्रिया