सडकका खाल्डाखुल्डी दशैँसम्म मर्मत भइसक्ने सडक विभागको दाबी

admin

काठमाडौं, १७ असोज : लगातार पानी परिरहँदा बिग्रे भत्केका सडक मर्मतमा समस्या भएको छ । यसपटक मनसुन लम्बिएको र निरन्तर पानी परेकाले दशैँका लागि सडक मर्मत तथा सरसफाइको काम छिटो गर्न नसकिएको सडक विभागले जनाएको छ ।

तर, दशैँसम्ममा मर्मत तथा खाल्डाखुल्डी पुरिसक्ने गरी तयारी अवस्थामा बसेको विभागको दाबी छ । असार, साउन र भदौमा निरन्तरको वर्षाले भत्केका मुख्य राजमार्ग तथा सडकमध्ये बेसीसहर-चामेबाहेक अरु सबैको मर्मत भइसकेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताएएका छन् ।

उनका अनुसार बेसीसहर-चामे सडक पनि दुई/तीन दिनमा खुलाउने गरी काम भइरहेको छ । अरु मुख्य राजमार्ग तथा सडकका खाल्डाखुल्डी पुर्ने काम दशैँसम्ममा हुनेछ । दशैँका लागि काठमाडौंबाट यात्रुहरु बाहिरिन थालेका छन् । तर मुख्य सडक खाल्डाखुल्डीले धराप जस्ता बनेको यात्रु तथा गाडीधनीको गुनासो छ ।

यातायात व्यवसायीले यसअघि नै सडक मर्मत गरी सहज बनाउन सरकारसँग माग राखेका थिए । तर सडक विभागले अझै मर्मतको काम थाल्न सकेको छैन । यसपालि गएको जेठ २८ गतेदेखि सुरु भएको मनसुन अक्टोबर २ अर्थात असोज १६ गते बाहिरिने अनुमान थियो । तर मनसुन लम्बियो ।

आज (आइतबार) अक्टोबर ३ सम्म पनि पानी पर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले विभागले सोचेअनुसार काम गर्न नसकेको अधिकारीको भनाइ छ । साथै देशभरका मर्मत आवश्यक सबै राजमार्गमा एकैपटक काम गर्ने विभागको योजना छ । बुटवल–नारायणगढ, नारायणगढ-काठमाडौं खण्डको ठाउँ ठाउँमा पहिरो र खाल्डाखुल्डी छन् ।

काठमाडौं जोड्ने मुख्य सडक नै खराब हुँदा यात्रु र गाडीधनीले समेत सास्ती खेप्दै आएका छन् । डिभिजन सडक कार्यालय चितवनले यो सडकमा मर्मत तथा सुधारको काम भइरहेको जनाएको छ । यसपालिको बर्खामा पहिरो र ठाउँ-ठाउँमा सडक भासिएकाले यो सडकको यात्रा कठिन छ ।

प्रतिक्रिया