‘एमाले कार्यकर्तालाई चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्न सुझाव, पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म’

admin

काठमाडौं, १७ असोज : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै चार वटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको प्रथम विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावबारे टिप्पणी गर्दै उनले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्नका लागि एउटा टिम बनाइएको र त्यो टिमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास दिलाए ।

उनका अनुसार राज्यको कानुनले अनुमति दिएको जुनसुकै काम गरे हुन्छ । त्यस्तै, समाजका अग्रगामी मूल्य मान्यताको पक्षमा रहेका जुनसुकै काम पार्टीका कार्यकर्ताले गरे हुन्छ । त्यसैगरी कम्युनिस्टको आचरण र नैतिकताले दिने जुनसूकै काम गरे हुन्छ । चौथोमा उनले पारदर्शी हुने जुनसुकै काम गरे हुने प्रस्ट पारे । उनले अब पुस्ताहरुबीचको कम्पोजिसन जरुरी रहेको पनि बताए ।

उनले भने, ‘योजनावद्ध कम्पोजिसन भएन भने बुढाबुढामात्र एकातिर थुप्रिने अवस्था आउँछ, त्यो भयो भने पार्टी नेतृत्व कहाँ पुग्छ ?’ हिजो कुनैबेला पूर्णकालीन कार्यकर्ता भनेपछि त्यो नै सबैभन्दा ठुलो मापदण्ड रहेको चर्चा गर्दै पोखरेलले भने, ‘अहिलेको परिवेशमा उत्पादन र श्रमसँग गाँसिदैनौं भने हाम्रो पंक्ति स्खलित हुन सक्छ । त्यसैले जुनसुकै काम गरे हुन्छ । तर चारवटा कुरालाई ख्याल गर्नुपर्छ ।’

यस्तै एमालेले विचारमा एकरुपता भएको पार्टी बनाउने संकल्प र अठोट गरेको छ । उक्त महाधिवेशनमा संगठनात्मक प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले कम्युनिस्ट पार्टीमा विचारमा एकरुपता हुनैपर्ने भन्दै आगामी दिनमा सोही अनुसार अघि बढ्न संकल्प गरेको बताए । त्यस्तै उनले कम्युनिस्ट पार्टीका नेताहरु जनतामा स्थापित भएका नेता नै नेतृत्वको जिम्मेवारीमा पुग्ने बताए ।

‘कतिपयले के-के प्रलोभनमा पनि नेतृत्व पाउने चलन छ भन्नुभयो, म विश्वास दिलाउन चाहान्छु, जनताले पत्याएका मात्रै नेता बन्नेछन् भन्ने विश्वास दिलाउन चाहान्छु’, पोखरेलले भने, ‘नेतृत्वको कम्पोजिसनका बारेमा उपभोक्ताहरुबीच कम्पोजिशन हुने त्यस्तो नहोस् भनेर अव विभिन्न तहको नेतृत्वमा पुस्ताको योजनाबद्ध कम्पोजिशन हुन्छ । त्यो भएन भने बुढा एकातिर हुने हुन्छ, त्यसो भयो भने पार्टी कहाँ पुग्छ ?’

उनले मापदण्ड पूरा गरेका युवा, पाको पुस्ता र अधवैँशे मिलाएर नेतृत्व निर्माण गर्ने बताए । उनले यसरी पुस्ताको हिसाब र आन्दोलनका एजेण्डा बोक्ने मुद्दाका हिसावले पनि हेरिने बताए । महासचिव पोखरेलले एमालेका हरेक कार्यकर्ता श्रम, उत्पादन र आयआर्जनमा लाग्नुपर्ने र त्यसैअनुसार अघि बढ्ने दावी गरे ।

पोखरेलले कार्यकर्ताको मुल्यांकनबारे महाधिवेशनमा उठेको प्रश्नमा कमिटीमार्फत मूल्यांकनको परिपाटीमा कमि भए सच्चाउने बताए । उनले समानुपातिक समानुपातिक समावेशिताको सवालमा कम्युनिस्ट पार्टी विचार र योग्यताका आधारमा बन्ने भएपनि समाजको विविधतालाई हेक्का राख्नुपर्ने बताए । ‘कम्युनिस्ट पार्टी बन्ने हो भने विचारको आधारमा बन्नुपर्छ जनसंख्याको आधारमा सोचियो भने गलत हुन्छ’, पोखरेलको जवाफ छ ।

प्रतिक्रिया