सर्वोच्चको फैसला : अब सन्तानले आमाको नाममा वंश छनोट गरेर नागरिकता लिन पाउने

admin

काठमाडौँ, १७ असोज : सर्वोच्च अदालतले सन्तानले आमाको वंश छनोट गरे बाबुको पहिचान खुले पनि आमाको नामबाट मात्रै नागरिकता दिन परमादेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिका–३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम उल्लेख गरी नागरिकता पाउने आदेश जारी गरेको हो । सर्वोच्चले गत २४ साउनमा तनिसी चन्दको मुद्दामा गरेको सो फैसला गरेको हो ।

सर्वोच्चको फैसलाको पूर्ण पाठमा उल्लेख छ, ‘तनिसी चन्दका बाबु र आमा दुवै नेपाली नागरिक रही दुवैबीच सम्बन्धविच्छेद भएको, नागरिकता प्राप्त गर्न निवेदकको उमेरबाट योग्य भएको एवं आमाको नाम मात्र राखी नेपाली नागरिकताको प्रमाणपत्र पेस गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवेदन पेस गरेकामा निज निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेस गरेका अन्य कागजातबाट निजको आमा र बाबु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डामा सम्म उल्लेख गरी निजले माग गरेबमोजिम नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्र उल्लेख गरी नागरिकता जारी गर्नू ।’

साथै सर्वोच्चले बाबुको पहिचान खुले पनि सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहेमा उपलब्ध गराउन भनेको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘आमाको नामबाट मात्रै नागरिकता जारी हुन सक्ने वा नसक्ने भन्ने विषयमा विचार गर्दा मुलुकी देवानी संहिता २०७४ को दफा १११(४) मा कुनै व्यक्तिले चाहेमा आफ्नो बावु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

यस कानुनी व्यवस्थाबाट कुनै व्यक्तिले बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेबाट रिट निवेदकले थर कुन राख्ने भन्नेबारे स्पष्ट पारेको देखिन्छ ।’ ‘नागरिकता भनेको राज्यले आफ्ना नागरिकको पहिचानका लागि जारी गर्ने महत्वपूर्ण र यसबाट राज्यद्वारा प्रदान गरिने अधिकार प्राप्त गर्न व्यक्तिको सम्बन्धको पहिचानसमेत दिने आधार हो,’ फैसलामा भनिएको छ, ‘यसरी नागरिकले आफ्नो पहिचान पाउने र सदैव साथमा रहेको नागरिकता प्रमाणपत्रमा निजले अनिच्छा गरेको व्यक्ति हुँदा निजको सम्मानमा आघात पर्ने देखिन्छ ।’

सर्वोच्चले सबै व्यक्तिमा नागरिकता लिन समान अवस्था नहुने भनेको छ । ‘नागरिकता व्यक्तिको राष्ट्रियतासँग गासिएको विषय हुँदा राज्यले संविधान तथा कानुनको निर्माण गरी नागरिकता प्राप्त गर्ने आधार तयार गरिएको हुन्छ, फैसलामा भनिएको छ, ‘ती आधारलाई अनदेखा गरी सबै व्यक्तिमा समान अवस्था नहुने हुँदा विद्यमान परिस्थितिको आधारमा समेत नागरिकता जारी गर्नुपर्ने अवस्थालाई स्वीकार गर्नुपर्छ ।’

त्यस्तै, आमाको नामबाट नागरिकता प्राप्तपछि सम्पत्तिको हकको विषयमा सर्वोच्चले राज्यले सन्तुलित व्यवहार गर्नुपर्ने फैसलामा भनेको छ । आमाको नाम मात्र राखी नागरिकता प्राप्त हुँदा भविष्यमा आफ्नो बाबुको सम्पत्तिलगायतका अधिकार दाबी लिन नसक्ने सरकारी पक्षको तर्कमा सर्वोच्चले भनेको छ, ‘यस अवस्थामा सन्तुलित रूपमा राज्यले व्यवहार गर्नुपर्ने देखिन आयो ।

यसका लागि यी रिट निवेदकले नागरिकता प्राप्त गर्नका लागि दिएको निवेदनमा बाबुको नाम उल्लेख नगरे पनि निजको बाबुको पहिचानका सम्बन्धमा निवेदकको आमा र बाबुबीचको सम्बन्ध विच्छेदका कागजातसमेत पेस भएको अवस्थामा उक्त विवरण नागरिकता वितरण गर्ने प्रशासनले आफ्नो ढड्डामा जनाउन सक्ने नै देखिन्छ ।

यस अवस्थामा कानुनबमोजिमको न्यूनतम प्रक्रिया पु-याई नागरिकता प्राप्तिका लागि आमाको नाम मात्र राखी आवेदन परेको र बाबु नेपाली हो भनी अन्य प्रमाणपत्र पेस गरेको अवस्थामा निजले बाबुको पहिचान लुकाई नेपाली नागरिकताको प्रमाणपत्र लिन खोजेको भन्ने विपक्षीको भनाइसँग सहमति हुन सकिएन ।’

तनिसीले बाबुले छोरीप्रति गर्ने कुनै पनि जिम्मेवारी पूरा नगरेको र शिक्षादीक्षा, लालनपालन सम्पूर्ण व्यवहार नगरेको र आफू आमासँग रहेको रिट निवेदनमा उल्लेख गरेकी थिइन् । उनले १८ वर्षसम्म एकपटक पनि नदेखेको बाबुको नामबाट नभई आमाको नामबाट नागरिकता लिन चाहेको रिट निवेदनमा उल्लेख गरेकी थिइन् ।

७ माघ २०७७ मा काठमाडौं महानगरपालिका–३ वडा कार्यालयबाट आमाको नामबाट नागरिकता बनाउन सिफारिस गरेकामा जिल्ला प्रशासनले आमाको नामबाट नागरिकता जारी गर्न इन्कार गरेपछि उनले सोविरुद्ध अदालतमा निवेदन दिएकी थिइन् । आमा र बुबाको सम्बन्धविच्छेद ९ जेठ २०६५ मा काठमाडौं जिल्ला अदालतबाट भएको थियो ।

१२ कक्षा उत्तीर्ण गरेर उच्चशिक्षा अध्ययनका लागि अमेरिकाको सिकागोस्थित डिपोल युनिभर्सिटीमा ६० प्रतिशत छात्रवृत्ति पाएर भर्ना गर्न राहदानी आवश्यक भएपछि उनले आमाको नामबाट नागरिकता जारी गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएकी थिइन् ।

साथै उनले वंशीय आधारमा थर छनोट गर्ने अधिकार नितान्त वैयक्तिक विषय भएको उल्लेख गरेकी थिइन् । नेपालको संविधानको धारा ११ (२) (ख)मा बाबु वा आमा दुवै नेपाली नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ भन्ने स्पष्ट व्यवस्था गरिएको छ । नेपाली नागरिकता ऐन, २०६३ को दफा ३ मा कुनै व्यक्ति जन्म हँुदा निजका बाबु वा आमा नागरिक रहेछन् भने त्यस्ता व्यक्ति वंशजको नाताले नेपाली नागरिक हुनेछ भन्ने व्यवस्था गरेको छ ।

के छ यसअघिको सर्वोच्चको नजिर ?
यसअघि पनि सबिना दमाईसमेत विरुद्ध नेपाल सरकार भएको मुद्दामा (ने.का.प अंक २ निर्णय नं ८५५७) मा सर्वोच्च अदालतले निवेदक नेपाली नागरिक आमाबाट नेपालमा जन्मिएको देखिएकाले निजलाई आमाको नामबाट नागरिकता प्रदान गर्नू भनी व्याख्या गरेको थियो । सर्वोच्चको सोही नजिरलाई टेकेर तनिसीले आमाको नामबाट वंशज कायम गरी नागरिकताका लागि गृह मन्त्रालयसमेतलाई विपक्षी बनाएर रिट दिएकी हुन् ।

त्यस्तै, सज्दा सापकोटाविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेत रहेको परमादेशमा संविधान तथा कानुनले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरिरहेका व्यक्तिले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने भनी व्यवस्था गरिसकेको अवस्थामा बाबु विदेशी वा स्वदेशी हो भनी प्रश्न उठाई संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र दिन इन्कार गरी नागरिकताविहीन बनाउनु कानुन अनुकूल कार्य मान्न नसकिने भन्ने अदालतबाट प्रतिपादित सिद्धान्त रहेको छ । अदालतको सो व्याख्याले पनि आमाको नामबाट नागरिकता पाउन सहज बाटो खोलिदिएको छ ।

प्रतिक्रिया