जनकपुर बम काण्ड : उच्च अदालतले घटायो मुख्य योजनाकार साहको सजाय

admin

काठमाडौं, १८ असोज : धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाइएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले सजाय घटाएको छ ।

दुई हप्ताको बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय घटाइदिएर सात वर्ष तोकिदिएको छ । २०६९ साल बैशाख १८ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।

त्यस घटनामा धनुषा जिल्ला अदालतले साहसहित सात जनालाई जन्मकैद र एक जनालाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए । ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो ।

जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए । जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले हिजो १२ वर्षबाट सजाय घटाएर साहविरुद्ध सात वर्ष कैद सजाय सुनाएको हो । ज्यान मार्ने उद्योगमा पाँच वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यद्यपी यस घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरिदिएको छ । साह अहिले काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

प्रतिक्रिया