आज पनि राष्ट्रिय सभामा एमालेको अवरोधकै बीच चार विधेयक अघि बढाइए

admin

काठमाडौं, १८ असोज : राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । एमालेले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम रोकिएको छैन ।

सोमबार पनि राष्ट्रिय सभाले एमालेको अवरोधका बीच नै चार वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । एमालेको विरोधका बीच बैठकले सरकारले पेस गरेको चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टेबल भएको छ । एमालेले कारबाही गरेका १४ जना सांसदको निष्कासनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गर्ने र राष्ट्रिय सभाको बैठकमा आफू बसेको ठाउँमा उभिएर विरोध जनाउने गरेका छन् ।

प्रतिक्रिया