एमाले विभाजन नभएको फेरि पुष्टि भएको छ : विष्णु पौडेल

admin

काठमाडौं, १८ असोज : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् । पार्टीका सङ्गठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी गरे ।

उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि नराखेको स्पष्ट पारे । (हिजो) आइतबार सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति सङ्केत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रूपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए ।

उनले भने, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रूपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ ।’

सोही क्रममा पौडेलले भने, ‘हामीले यो प्रणाली नै विकास गरेका छौँ । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन । विचार त सबैले व्यक्त गर्‍यौँ, सबै ठाउँमा हामीले आफूलाई लागेका कुरा बोल्यौँ । तर औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरक मत प्रस्तुत गरेको अवस्था होइन । त्यस कारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, सङ्गठनमा सबै हिसाबले एकताबद्ध छ ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही साबित भएको उनको तर्क छ । उपमहासचिव पौडेलले माधव नेपालप्रति सङ्केत गर्दै स्वार्थवश, कुन्ठावश, ईर्ष्यावश केही साथीहरू अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताए ।

उ​​नले भने, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले भन्दै आएका थियौँ, त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले पुनर्पुष्टि गरेको छ । एमाले विभाजित भएको छैन ।’ उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाएर लैजाने विश्वाससमेत व्यक्त गरे ।

आइतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरे । उपमहासचिव पौडेलले त्यो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताए ।

उनले पार्टीको विधान महाधिवेशन पार्टी जीवनमै पहिलो पटक एकमतका साथ सम्पन्न भएको स्पष्ट पारे । उपमहासचिव पौडेलले भने, ‘एकता भावका साथ प्रवेश गर्‍यौँ । एकता भावका साथ छलफल गर्‍यौँ । सहमति र सर्वसम्मतिले निर्णय गर्‍यौँ, एकताबद्ध भएर हल बाहिर निस्कियौँ ।’

प्रतिक्रिया