मुख्यमन्त्री राउतको राजीनामा माग्दै सिकेको जनमत पार्टीको प्रदर्शन

admin

जनकपुरधाम,  १८ असोज :  सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै आज सोमबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।

जनमत पार्टीका नेता कार्यकर्ताले प्रदेश २ सरकार भ्रष्ट भएको आरोपसहित मुख्यमन्त्रीको राजीनामा माग्दै सोमबार दिउँसो विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले चर्का नाराबाजी गरेका थिए। उनीहरूले ‘साइकल चोर–सरकार छोड्, भ्रष्ट सरकार–राजीनामा दे, मधेसी जनता के भन्छ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए।

मुख्यमन्त्री कार्यालयमार्फत प्रदेशका जिल्लामा सञ्चालन हुँदै आएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको भन्दै उजुरी परेपछि १३ असोजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेर अनुसन्धानको लागि कागजात नियन्त्रण लिएर गएको थियो।

यता अख्तियारविरुद्ध जनता समाजवादी पार्टीले शनिबार र आइतबार दुई दिन प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेको थियो।

प्रतिक्रिया