यसपालि दशैँमा पानी पर्ने मौसमविद्को अनुमान

admin

काठमाडौं, १९ असोज : यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ ।

मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताइन् । पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम हुने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै, मौसमविद् मानन्धरले यसपालि दशैँ पछि पनि पानी पर्ने सम्भावना रहेको बताइन् । अक्टोबर र नोभेम्बरमा पोस्ट मनसुनका गतिविधि हुने भएकाले दशैँ पछि पनि पानी पर्ने उनले बताइन् । यसपालि मनसुन सुरु भए पछि औसतभन्दा धेरै वर्षा भइसकेको छ ।

गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । मौसमविद्ले मनसुन सुरु हुनु अगावै यसपालि धेरै पानी पर्ने अनुमान गरेका थिए । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । दशैँ नजिकिएसँगै यात्रुहरु गाउँ घर जान थालिसकेका छन् ।

प्रतिक्रिया