चितवनका ६ वटा मेडिकल कारबाहीमा

admin

काठमाडौं, १९ असोज : चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाही स्वरुप पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायब सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई तीन/तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । यस्तै, मिराकल फर्मालाई दुई लाख ५० हजार, रिजन फार्मेसीलाई बीस हजार र अपोलो डेन्टल क्लिनिकलाई पाँच हजार रुपैयाँ जरिबाना तोकिएको उनले जानकारी दिए ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा औषधि बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिइ सञ्चालन गरेको लगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए ।

प्रतिक्रिया