आज बालुवाटारमा के छलफल भयो गठबन्धनका शीर्ष नेताबीच, कहिले हुन्छ मन्त्रिमण्डल विस्तार ?

admin

काठमाडौं, १९ असोज : मंगलबार सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । स्रोतका अनुसार चार जना शीर्ष नेताहरुबीच ११ बजेदेखि १२ बजेसम्म एक घण्टा छलफल भएको र उक्त छलफलमा मन्त्रिमण्डल विस्तारकै बारेमा कुराकानी भएको बुझिएको छ ।

मन्त्रालयको भागबण्डा टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका एक सदस्यका अनुसार भने (आज) मंगलबार पनि मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले पहिला मन्त्रालयको भागबण्डा टुंग्याउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् । तर प्रधानमन्त्री देउवाले भने मन्त्री हुनेको नाम दिन दलहरूसँग आग्रह गरिरहेका छन् ।

गठबन्धनमा पहिला भएको सहमति अनुसार ६/६ वटा मन्त्रालय भागबण्डा गर्ने भनेपनि पछिल्लो समय सांसद संख्याको आधारमा मन्त्रालय र मन्त्री भाग लगाउने कांग्रेस र माओवादी केन्द्रका नेताहरुको प्रस्तावमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहमतिबाट पछि हट्न नहुने बताइरहेका छन् ।

प्रतिक्रिया