कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

admin

काठमाडौँ, १९ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले आज- भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ ।

मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनेका छन् । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले ५-५ वटा मन्त्रालय पाउने भएका छन् ।

कांग्रेसबाट अब तीन जना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री देउवाले आफ्नो कोटाबाट मन्त्री बनाईसकेका छन् । अब वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दुई जना र कृष्ण प्रसाद सिटौला समूहबाट एक जनालाई मन्त्री बनाउन लागेका छन् । पौडेल पक्षबाट यसअघि सुजाता कोइराला मन्त्री बन्ने चर्चा थियो ।

तर, पछिल्लो समय पौडेल पक्षले कोइराला नपठाएर डा. मिनेन्द्र रिजाललाई पठाउन लागेको छ । रिजाल सञ्चारमन्त्री बन्ने पक्कापक्की भएको छ । अर्को एक जनामा कसलाई पठाउने भन्नेबारे पौडेल पक्षले आजै नाम तय गर्ने बुझिएको छ । उता, सिटौलाले भने आफ्नो समूहबाट यसपटक भीमसेनदास प्रधान, उमाशंकर चौधरी र राजन केसीमध्ये एक जनालाई मन्त्री बनाउने चर्चा छ ।

सुजाताले सुरुमा परराष्ट्रमन्त्री बनेर जाने ईच्छा राखेकी थिईन् । तर, प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जानुपर्ने भएको भन्दै डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि सुजाता मन्त्री बन्ने रेसबाट आउट भएकी हुन् ।

सुजातालाई मन्त्री बनाउनको लागि महामन्त्री डा. शशांक कोइराला र शेखर कोइराला दुवैले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया