भारत भ्रमण गर्दै कांग्रेस नेताहरू

admin

भक्तपुर, २० असोज : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ। सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो।

भाजपाका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणमा जाने लागेको उक्त प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरू उदयशमशेर जबरा र अजय चौरसिया समेत रहेका छन्।

भारत भ्रमणका क्रममा भाजपा र सरकारका उच्च अधिकारीसँग भेट गरी दुई पार्टीबीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको सम्बन्ध विकासमा सघाउ पुर्‍याउने गरी आफूहरू भारत भ्रमण जान डा. महतले जानकारी दिए।

नयाँ दिल्ली, लखनउ र बनारसमा हुने छलफलले दुई देशबीच एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पुर्‍याउने उनले बताए।

सहमहामन्त्री महतले भने‚ ‘भारतीय जनता पार्टीको निमन्त्रणमा हामी भारत भ्रमणमा जाँदै छौं। यसअघि मेरै निमन्त्रणामा नेपाली कांग्रेस र पार्टीका तर्फबाट भाजपाका विदेश विभाग प्रमुख नेपाल आउनु भएको थियो। प्रधानमन्त्रीलगायतसँग हामीबीच धेरै अन्तरसंवाद पनि भए।’

दुई दलबीच अन्तरसंवाद, छलफल र भेटघाटले एक अर्कालाई बुझ्ने, पार्टी सञ्चालन प्रक्रिया र एक अर्काप्रतिका दृष्टिकोणबारे थाहा हुने उनको धारणा छ। अन्तरसंवाद‚ भेटघाट र बुझाइको तह बढेपछि दुई देशबीचका समस्या समाधान गर्न सजिलो पर्ने उनले बताए। नेपाली कांग्रेस र भाजपा दुवै सत्तारुढ दल भएकाले दुई देशका सरकार र जनताबीचको सम्बन्ध मजबुत पार्न मद्दत हुने महतको भनाइ छ।

’त्यसैअन्तर्गत उहाँहरूले मेरो नेतृत्वमा भ्रमणका लागि निम्ता दिनु भयो। त्यो निम्तोलाई सहर्ष स्वीकार गर्दै हामी भारत जाँदै छौं। अहिले हाम्रो दिल्ली, लखनउ र बनारसमा समेत भेटघाट राखिएको छ।

त्यहाँ भाजपाका उच्चपदस्थ नेताहरू र भाजपाकै सरकार भएकाले सरकारमा बसेका उच्चपदस्थ नेतृत्वसँग पनि छलफल गर्ने तयारी छ।’ उनले दुई मुलुकबीच कुनै समस्या भए तत्काल कूटनीतिक पहल गरी समाधान गर्न पनि यस्ता भ्रमण उपयोगी हुने धारणा समेत राखे।

प्रतिक्रिया