पर्यटकीय स्थल कुण्डहरूको गहिराइ नापिँदै

admin

रसुवा, २१ असोज : रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नाप्न लागेको हो ।

यसका लागि अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी गोसाइँकुण्ड गएका छन् । गोसाइँकुण्ड तथा त्यस वरपर रहेका कुण्डहरूको गहिराइ नापेपछि त्यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुने छ भने पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेशन टुरिजमको अवधारणालाई सहयोग पुग्ने छ ।

एक हप्ताभित्रमा गोसाइँकुण्ड तथा वरिपरिका कुण्डहरूको गहिराई नापिने अनुसन्धानकर्ता बासुदेव न्यौपानेले बताए । जलवायु, मौसम तथा गहिराइ नाप्न प्रयोग हुने सामग्रीको आधारमा पनि समय निर्धारण हुने उनको भनाइ छ । गोसाइँकुण्ड वरिपरि रहेको कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्वपूर्ण भएकाले पनि अनुसन्धान आवश्यक रहेको उनले बताए ।

तालको गहिराइको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नाप्ने छ । अनुसन्धान पश्चात अनुसन्धानको प्रतिवदेन तयार पारिने छ । यसमा थप अनुसन्धान गर्नका लागि अन्य अनुसन्धानकर्तालाई सहयोग पुग्ने विश्वास लिइएको छ । एकेडेमीले हरेक वर्ष हिमाली क्षेत्रहरूमा विभिन्न अध्ययन अनुसन्धान गर्न मान्छेहरू छान्ने गरेको छ ।

गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन् । गोसाइँकुण्ड वरपर रहेका कुण्डमा सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, गणेश कुण्ड, चन्द्रकुण्ड, क्युमाछोकुण्ड, रक्तकुण्ड, बतासकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, रानीकुण्ड, ब्रदकुण्ड लगायतका छन् । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे-गोसाइँकुण्ड, ठाडेपाटी-गोसाइँकुण्ड, यार्सा-गोसाइँकुण्ड र सागरकुण्ड-गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।

त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाडौं-धुन्चे-गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ने बाटो हो । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।

प्रतिक्रिया