देशको मुख्य समस्या राजनीति हो, विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्छ : पञ्चा सिंह

admin

काठमाडौं, २१ असोज : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी सङ्गठनहरू राजनीतिक विषयमा केन्द्रित हुनुपरेको उल्लेख गरेकी छिन् । यस्तै आउँदा दिनमा भने रचनात्मक र सिर्जनात्मक ढङ्गले शैक्षिक मुद्दामा केन्द्रित हुने उनले बताइन् ।

बिहीबार अध्यक्ष सिंहले आफ्नो सङ्गठनलाई वैचारिक र राजनीतिक रूपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताइन् । उनले अखिल क्रान्तिकारीको विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइन् ।

अध्यक्ष सिंहले भनिन्, ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्छ । तर अहिले विद्यार्थी आन्दोलन पार्टीको एजेन्डामात्रै बोक्ने आन्दोलन बनेको छ । यो कुरा हामीले गम्भीर अनुभूति गरेका छौँ । विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौँ । स्वभावैले पार्टी पनि सङ्कटको अवस्थामा थियो । जटिल अवस्थामा हुँदा पार्टीलाई कहीँ न कहीँ बोक्नुपर्ने हुन्छ, त्यो बोक्यौँ पनि तर आजका दिनमा परिस्थिति बदलिएको छ । हामी समाजसँग जोडिएर समाजका जल्दाबल्दा विषयहरूलाई हाम्रो सरोकारका विषय पनि बनाएर लैजान्छौँ र यसलाई रचनात्मक बनाउने गरी बढी नै मेहनत गर्छौँ ।’

प्रतिक्रिया