पुनः अनसन बस्ने डा. केसीको चेतावनी

admin

काठमाडौँ, २१ असोज : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा आयोगलाई शैक्षिक र मेडिकल माफियाहरूको स्वार्थमा भताभंग पार्न खोजिएको भन्दै डा. केसीले आज एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन्।

केही समयअगाडि डा. केसीले सत्याग्रह घोषणा गरेकोमा प्रधानमन्त्री देउवाले पाँच बुँदे प्रतिबद्धता गरेपछि स्थगित गरेका थिए। तर, ती प्रतिवद्धता कार्यान्वयन नभएको उनको गुनासो उनले गरेका छन्। उनले पाँच बुँदे माग अघि सार्दै ती माग पुरा नभए जुनसुकै बेला अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

मागपत्रको पहिलो बुँदामा भनिएका छ, ‘राज्यको नीति निर्माणमा आरजु देउवालगायतका शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप तत्काल रोकियोस्। माफियाहरूको स्वार्थपुर्तिका लागि कार्तिक २५ गते बोलाउन लागिएको चिकित्सा शिक्षा आयोगको बैठक रद्द गरियोस्।

पार्टी कार्यकर्ता तथा माफियाका प्रतिनिधि खगेन्द्रप्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस्। नर्सिङलगायतका विषय पढाउने कलेजहरूबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरू अक्षरस: कार्यान्वयन गरियोस्।’

प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ, नर्सिङ लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरूका लागि आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको उनको भनाइ छ ।

‘त्यसको मुख्य एजेण्डा चिकित्सा शिक्षा ऐनलाई कुल्चँदै नपढाइ डिग्री बेच्ने कलेजहरूलाई नयाँ भर्ना खुलाउनु हो,’ उनले भनेका छन्, ‘यस्तो अवैध काम सरकारबाट गराउने जिम्मा पार्टी कार्यकर्ता तथा निजी कलेजका सञ्चालक खगेन्द्र प्रसाद अधिकारीले लिएका छन् जो सिटिइभिटीका समेत उपाध्यक्ष हुन्।

सिटिइभिटीलाई जथाभावी सम्बन्धन र घुसखोरीको अखडा बनाएर माफियाहरूका लागि काम गरिरहेका अधिकारी र उनको गिरोह अहिले चिकित्सा शिक्षा आयोगलाई धराशायी पार्न लागिरहेका छन्।’

देउवाले सिंहदरबारस्थित कार्यालय नगइ वासस्थानबाटै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तथा आरजु देउवा र उनी वरपरका माफियाहरूको स्वार्थमा देश चलाउने अधिकार देउवालाई नभएको डा.केसीको टिप्पणी छ।

प्रतिक्रिया