नेपाललाई कोरोनामुक्त अभियानमा ध्यान केन्द्रित गर्छु : स्वास्थ्यमन्त्री खतिवडा

admin

काठमाडौँ, २२ असोज : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताएका छन् ।

उनले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे । शुक्रबार साँझ सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरुलाई समयमै सकाउन पनि आफ्नो ध्यान केन्द्रित हुने बताए । मन्त्री खतिवडाले भने, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबभन्दा बढी ध्यान केन्द्रित गर्छौं ।

र, यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुपर्ने कामहरु त्यसलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरु नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।’मन्त्री खतिवडाले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्रतामा आफ्नो कामलाई अघि बढाउने बताए ।

प्रतिक्रिया