काठमाडौं, २३ असोज : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन बाहिरिने क्रममा रहेको छ।
शुक्रबार साँझ विषेश बुलेटिन जारी गर्दै महाशाखाले यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको जनाएको छ।
औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन उक्त मितिभन्दा केही पछाडि सरेको छ। आगामी केही दिनमा देशका बाँकी भू–भागहरुबाट पनि मनसुन बाहिरिने अनुमान गरिएको महाशाखाले जनाएको छ।
यसैबीच आज नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाका मौमसविद गंगा नगरकोटीले जानकारी दिइन्। शनिबार बिहान प्रदेश १ र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ।
दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।