राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

admin

काठमाडौं, कार्तिक १ : सरकारले साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै नेपाली टिमका प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराइने प्रवक्ता कार्कीले बताए।

नेपाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर सोमबार स्वदेश फर्किएको थियो। शनिबार भएको साफको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुन परेको थियो।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो।

नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको थियो। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।

प्रतिक्रिया