अफगान किशोरीहरु छिट्टै स्कुल फर्कन पाउने

admin

काबुल, कार्तिक २ : अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले माध्यमिक तहका स्कुले छात्राहरु छिट्टै स्कुल फर्कन पाउने जनाएको छ ।


मन्त्रालयका प्रवक्ता सइद खोस्तीले उनीहरु कहिलेदेखि स्कुल फर्कन पाउनेछन् भन्ने मिति चाहिँ शिक्षा मन्त्रालयले केही पछि घोषणा गर्ने बताए ।

“मेरो बुझाइ र सूचना अनुसार छोटो समयमै सबै विश्वविद्यालय र स्कुलहरु खुल्नेछन् । र सबै किशोरी र महिलाहरु स्कुल र कार्यालय फर्कन पाउनेछन्,” खोस्तीले भने ।

तालिबानले अगस्ट १५ मा सत्ता कब्जा गरेपछि सबै स्कुले बालिकाहरुलाई सुरक्षित सिकाइको वातावरण नहुन्जेल घरमै बस्न आदेश दिएको थियो । तर सबै छात्रहरु र प्राथमिक तहका बालिकाहरुका लागि भने स्कुल खुला राखिएको थियो ।

तर पछिल्लो पटक तालिबान अधिकारीहरुले छात्रा र उनीहरुलाई पढाउने शिक्षिकाहरु अब छिट्टै स्कुल फर्कन पाउने बताएका छन् ।

यसबीचमा तालिबानले अफगानिस्तानमा महिला तथा किशोरीहरुलाई कार्यालय र स्कुलमा फर्कन बन्देज गर्दा थुप्रै अधिकारकर्मी र महिलाहरुले तालिबानको अन्तरिम सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए । यस्तै कतिपय विदेशी मुलुक र दातृ निकायले समेत तालिबान सरकारको महिलाविरोधी नियमको कडा आलोचना गर्दैआएका थिए ।

प्रतिक्रिया