गुरुयोजना बनाएर पीडितलाई सम्बोधन गर्छु : प्रधानमन्त्री देउवा

admin

महेन्द्रनगर, कात्तिक ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।

बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो ।

“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उहाँले भन्नुभयो, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उहाँले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हँुदै बाढीको क्षति र अवस्थाबारे आज साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो ।

सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिराले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्वाधरूपमा सञ्चालन नहुन सकेको छैन ।

कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको छ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकामा आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया