ताजिकिस्तानसँग नेपाल ६-० गोलले पराजित

admin

काठमाडौं, कात्तिक ११ : एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो ।

ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुखम्मादली अजिजबोएभ, भाख्दुत खानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल गरे ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलको २४ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २-० ले अघि रह्यो ।

खेलको ४१ औं मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टिम पहिलो हाफमा ३-० ले अघि रह्यो । खेलको ६३ औं मिनेटमा अजिजबोएभले गोल गर्दा घरेलु टिम ४-० ले अघि रह्यो ।

६८ औं मिनेटमा खानोनोभले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ५-० को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६-० गोलको जित दिलाए ।

छनोटको समूह ‘बी’ को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । ताजिकिस्तान यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रतिक्रिया