उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोेको प्रयोग गर्नुस्

admin

काठमाडौं, कार्तिक १६ : ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन गर्न कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिँदै ग्यासको तुलनामा अहिले पनि बिजुलीमा खाना पकाउँदा न्यूनतम ४० प्रतिशत सस्तो पर्ने जानकारी दिएको छ । नेपाल आयल निगमको विवरणअनुसार वार्षिक रु ४० अर्ब बराबरको खाना पकाउने ग्यास आयात हुने गरेको छ ।

मोटो रकम विदेशिएको भन्दै प्राधिकरणले त्यसका लागि आवश्यक पर्ने वितरण लाइन, ट्रान्सफर्मर तथा अन्य प्राविधिक तयारीसमेत भएको जनाएको छ ।

प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “इन्डक्सन चुलोेको प्रयोगलाई मात्रै बढाउन सके ठूलो मात्रामा विदेश गएको पैसा देशभित्रै राख्न सकिन्छ ।

त्यसका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।” प्रणालीमा यथेष्ट मात्रामा बिजुली उपलब्ध भएको भन्दै अब कुनै पनि चिन्ता नलिइकन खपत गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

घरघरमा जडान गरिएको पाँच, १० र १५ एम्पियरको फ्युजको क्षमता बढाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तै, १०० देखि १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले पनि ग्यासको तुलनामा ४० प्रतिशत कम पर्ने गरी महशुल तिर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

आमरुपमा बिजुलीको खपत बढोस् भन्ने ध्येयका साथ नै प्राधिकरणले महशुलदेखि अन्य प्राविधिक तयारी समेत गरेको उहाँको भनाइ छ । प्राधिकरणको प्रणालीमा दुई हजार मेगावाट बढी बिजुली जोडिएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट बिजुली थप हुने प्रक्षेपण छ ।

तोकिएअनुसार काम भएको खण्डमा प्राधिकरणको प्रणालीमा हाल उपलब्ध भएको भन्दा झण्डै दोब्बर बिजुली उपलब्ध हुन दुई वर्ष मात्रै लाग्ने देखिन्छ । यसले पनि बिजुलीको खपत बढाउनै पर्ने वाध्यता आइपरेको प्राधिकरणको भनाइ छ ।

यस्तै, पछिल्ला दिनमा विद्युतीय सवारी साधनप्रति आम मानिसको चासो बढेको छ । भन्सार विभागका अनुसार विद्युतीय सवारी आयात अघिल्लो वर्षहरुको तुलनामा बढेको छ ।

यस्तै, सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारी साधन नै खरिद गर्ने निर्णय गरेको छ । यसले पनि बिजुलीको खपत बढाउन सहयोग पुग्नेछ । विद्युतीय सवारीका लागि चार्ज गर्दा प्रतियुनिट रु पाँचदेखि रु छ सम्म लाग्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले आफैँ पनि देशभर तत्काल ५० चार्जिङ स्टेशन निर्माण गर्न लागिपरेको छ । दीर्घकालीन रुपमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ ।

निजी क्षेत्रले पनि आक्रामक रुपमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । विद्युतीय सवारी साधनको आयात समेत बढेको, चार्जिङ स्टेशनसमेत बढेकाले बिजुलीको खपत बढ्नेमा प्राधिकरण ढुक्क देखिएको छ ।

बिजुलीको खपत बढाउनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यसचिवदेखि सरोकारवाला निकायका बीचमा छलफल तथा गृहकार्य भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक कुलमान घिसिङले सार्थक प्रयासले मात्रै सकारात्मक नतिजा निकाल्ने बताउनुभयो ।

प्रतिक्रिया