मेलम्चीको पानी तत्कालै उपलब्ध गराइनेछः मन्त्री चौधरी

admin

सुरुङ्गा (झापा), १६ कात्तिक : खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ बासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताउनुभएको छ ।

खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुग्नुभएका मन्त्री चौधरीले आज नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा विज्ञहरुको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौँ बासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने बताउनुभएको हो ।

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौँ बासीलाई खुवाउने प्रतिबद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो । मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गर्नुभयो ।

उहाँले मुलुककै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा चिनिएको बिर्तामोड साना सहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागार्इंले झापामा सञ्चालित खानेपानी आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया