‘न्यायालयको निकास न्यायालयले नै खोजोस् : सहमहामन्त्री डा महत

admin

फुङ्लिङ, १७ कात्तिक : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताउनुभएको छ ।

प्रधानन्यायाधीशले आफैँ गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने महतको धारणा थियो ।पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता महतले आज ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या तत्काल अन्त्य हुनुपर्ने पनि बताउनुभयो ।

प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रष्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उहाँले बताउनुभयो ।

सर्वोच्चमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी भए पनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले चारवटा महत्वपूर्ण काम गर्न सफल भएको उहाँले बताउनुभयो । आज ताप्लेजुङमा पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गठबन्धन सरकारले गरेको कामको बारेमा उहाँले प्रष्ट्याउनुभएको हो ।

उहाँका अनुसार पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न केही ढिलाइ गरे पनि हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गरेको र असंवैधानिक ढङ्गबाट गरिँदै आएको नियुक्तिलगायतका क्रियाकलाप नियन्त्रण गर्न सरकार सफल हुँदै गएको छ ।

परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरुको उचित व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको उहाँले बताउनुभयो ।

सहमहामन्त्री महतले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताउनुभयो । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको समय पटकपटक परिवर्तन गर्नु परे पनि अब पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिकाअनुसार महाधिवेशन हुने उहाँले ठोकुवा गर्नुभयो ।

आउँदो महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिने पनि घोषणा गर्नुभयो । कांग्रेस नेता महत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज बिहान दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा नेपाली कांग्रेसका पार्टी कार्यकर्तासँग भेटघाट गुर्नभएको हो ।

प्रतिक्रिया