प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने बाबुरामको आशय

admin

काठमाडौं, कात्तिक १८ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

उनले एक ट्विट गर्दै प्रधानन्यायाधीश जबराले राजीनामा दिएर गल्ती सच्याउनुपर्ने, नभए संसद (व्यवस्थापिका)ले आवश्यक कदम चाल्नुपर्ने बताएका हुन् । यसको आशय प्रन्या जबराबाट भएको गल्ती ढाकछोप गर्न नहुने र आफैले मार्गप्रशस्त नगरे महाभियोग लगाएर भए पनि उनलाई हटाउनुपर्ने भन्ने रहेको ।

‘शास्त्रले सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं भने पनि तैँ चूप मैँ चूप समस्याको समाधान हैन,’ भट्टराईले भनेका छन्, ‘राज्य र समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलेमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैंले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौँ ।’

स्मरणीय कुरा के छ भने बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाउँमा ल्याएर हिनामिना गरेको सम्बन्धमा डा भट्टराई र पूर्व प्रधानमन्त्री माधव नेपालमाथि पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

उक्त मुद्दा प्रधानन्यायाधीशकै इजलासमा यही कार्तिक १५ गते फैसला हुनुपर्ने थियो, तर त्यसअघि नै सर्वोच्चमा पन्याको राजीनामा माग्दै आन्दोलन चलेकाले उक्त फैसला समेत स्थगित छ ।

यस मामिलामा प्रमुख दलहरु मौन बसेका बेला डा. भट्टराईले भने पहिलोपटक मुख खोलेका छन् । यसअघि जसपाकै सांसद मोहम्मद इस्तियाक राईले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन संसदको विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

तर पूर्वप्रम एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनेबारे दलहरुबीच कुनै छलफल नभएको अभिव्यक्ति दिँदै आएका छन् ।

 

प्रतिक्रिया