भाइटीकाका दिन पनि वाग्मती सफाइ

admin

काठमाडौँ, कात्तिक २० : तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ ।

त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो ।

सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न वाग्मतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने जनाइएको छ । आज तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।

महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौँ उपत्यकामा २५ सथनमा सफाइ भइरहेको छ ।

सांस्कृतिक सम्पदामा पनि वाग्मतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर हाल १०८ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रुपमा जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ । रासस

प्रतिक्रिया