भोलिदेखि न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराविरूद्ध आन्दोलन झन् चर्काउने

admin

काठमाडौँ, कात्तिक २१ : तिहार बिदा सकिएसँगै सोमबारदेखि न्यायाधीश र कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराराणाको राजीनामा माग गर्दै विरोध कार्यक्रमलाई सशक्त बनाउने भएका छन् ।

नेपाल बार एशोसिएसनले आन्दोलनलाई थप कडा बनाउन देशभरिका बार इकाइसँग छलफल गर्ने भनेको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई सोमबार साढे १० बजे नेपाल बारको प्राङ्गणमा उपस्थित हुन आह्वान गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छने्, ‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालोपट्टी सहितको विरोध कार्यक्रम सम्पन्न भएका छन्।

कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भएकाले काठमाडौं उपत्यकामा रहनु भएका सम्पूर्ण कानून व्यवसायीज्यूलाई उक्त कार्यक्रममा बिहान १० : ३० बजे बार कार्यालयमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने बारको अभियानमा एक घन्टा कालोपट्टी सहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ ।

देशभरिका बार इकाइका अध्यक्ष, सचिवज्यूहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकाले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिनेछ।’

कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश राणाविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। तर, त्यसलगत्तै तिहार आएपछि आन्दोलन स्थगित भएको थियो ।

प्रतिक्रिया