वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

admin

काठमाडौँ, कात्तिक २२ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत परेको हो।

मतदानमा १०४ जना सदस्‍यहरू उपस्थित थिए भने पाण्डेको विपक्षमा ४३ मत परेको छ। त्यस्तै, दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा जम्मा २ मत परेको छ।

बागमती प्रदेशको हैसियतलाई माथि उठाउनको लागि सबै दलको सहकार्य हुन आवश्यक रहेको भन्दै उनले मागेको विश्वासको मतमा नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूबाट मतदान पाएका हुन्।

पाण्डेले बागमती प्रदेशको अनावश्यक खर्च घटाएर आम्दानी बढाउने र प्रदेशमा सुशासन कायम गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

प्रदेशसभामा एउटा मात्रै दलको बहुमत नपुगी दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाबमोजिम पाण्डेले विश्वासको मत लिएका हुन्। १०९ प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा बहुमतको सरकार टिकाउन ५५ मत भए पुग्‍नेछ।

प्रतिक्रिया