सरकारलाई सहयोग गर्न गठबन्धनले बनायो समिति, संयोजक रामचन्द्र पौडेल

admin

काठमाडौँ, कात्तिक २२ : सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले समिति बनाएको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गठबन्धन ५ दलबाट २/२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाइएको उनले बताए। कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ सदस्य छन्।

नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको उनले जानकारी दिए। ‘नेकपा एकीकृत समाजवादी, जसपाले एकेक जनाको नाम दिन बाँकी छ,’ उनले भने।

दुई-दुई महिनामा संयोजक परिवर्तन हुने उनले बताए। यो संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने उनले बताए उक्त समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए।

‘तत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेछ। अनि सरकारलाई समग्र हिसाबले सहयोग गर्नेछ’, उनले भने।

 

प्रतिक्रिया