पार्टी काममा फर्किए नेता खनाल

admin

काठमाडौँ, कात्तिक २२ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो ।

उहाँले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा शङ्कर खतिवडालाई मनोनयन गर्नुभएको छ । उहाँले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिनुभएको छ ।

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उहाँ घरमै आराम गरेर बस्नुभएको थियो । मिर्गौला उपचारका क्रममा उहाँले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल जानुभएको थियो । मिर्गौला प्रत्यारोपणपछि उहाँ दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किनुभएको हो ।

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उहाँ कुनै पनि कार्यक्रममा उपस्थित हुनु भएन । उक्त समय अवधि सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने हुनुभएको छ ।

पार्टीका आन्तरिक गतिविधिमा भने उहाँ सहभागी हुनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उहाँ एउटा सचिवालय बैठकमा उपस्थित हुनुभएको थियो तर पार्टी कार्यालय स्थापना भएपछि उहाँ पहिलोपटक कार्यालय आउनुभएको हो । उहाँ अब नियमित रुपमा कार्यालयमा रहनुहुने भएको छ ।

प्रतिक्रिया