चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छ : गृहमन्त्री खाँण

admin

धनुषा, २२ कात्तिक:  गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उहाँको भनाइ थियो ।

गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताउनुभयो । “यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

सदनको गतिरोध हटाउन उहाँले एमालेसँग आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले सरकार आमजनताको जीवन रक्षाका लागि गम्भीर रहेको स्पष्ट पार्दै नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

सुरक्षा व्यवस्थामा थप सुधार गर्न तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उहाँले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु आवश्यक भएको र सरकारको चाहना समेत त्यही भएको मन्त्री खाँणको भनाइ थियो ।

प्रतिक्रिया