आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

admin

काठमाडौँ, कात्तिक २६ : विश्वभर कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहँदा विश्व स्वास्थ्य संगठनले आगामी वर्षदेखि सिरिन्ज (सुई) अभाव हुनसक्ने चेतावनी दिएको छ ।

संगठनका अनुसार आगामी वर्ष विश्वभरी करिब २०० करोड सुईको कमि हुन सक्छ । डब्लूएचओको एक प्रतिवेदनका अनुसार विश्वभर कोरोना भ्याक्सीनका कारण ठूलो मात्रामा सिरिन्जको प्रयोग भइरहेको छ ।

अहिलेसम्म विश्वभरी ७२५ करोड डोजभन्दा बढी कोरोनाभाइरसविरुद्धको खोपको प्रयोग भइसकेको छ । जसमध्ये पहिलो डोज, दोस्रो डोज र बुस्टर डोज छन् । खोपको यो मात्रा सामान्यतया एक वर्षमा दिइने कूल खोपहरुको दोब्बर भन्दा बढी हो । प्रत्येक डोजको लागि एउटा सुई प्रयोग हुन्छ त्यसैले सुईको खपत हरेक वर्ष दोब्बर भएको छ ।

डब्लूएचओको औषधि र स्वास्थ्य उत्पादन विभागकी वरिष्ठ सल्लाहकार लिसा हेडम्यानका अनुसार, ‘अर्काे वर्ष सिरिन्जको कमि हुन सक्ने चिन्ताको विषय बनेको छ । यसले खोपको गति सुस्त हुन जान्छ । साथै यसले धेरै रोगहरुबाट बच्न प्रयासहरुमा गम्भिर प्रभाव पार्छ ।’

सिरिन्जको अभाव हुन सक्ने भएकाले उत्पादनलाई तीव्रता दिनुपर्ने डब्लूएचओले जनाएको छ । सिरिन्जको आपूर्तीमा कमी आयो भने विश्वभरी त्रास उत्पन्न हुन सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

प्रतिक्रिया