एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ: माधव नेपाल

admin

काठमाडौँ, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले उत्साहवर्द्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सिलसिला चलेको बताए। अध्यक्ष नेपालले डडेलधुरामा हालै एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया दिए।

उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए। अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरूद्ध झूटा प्रचार गरिरहेको भन्दै त्यसविरूद्ध चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘नेकपा एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ। उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डै झण्डै सबै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ। बेग्लै किसिमको उत्साह पैदा गरेको छ।

तरंग पैदा गरेको छ। यति हुँदाहुँदै हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ र उसले अनावश्यक आरोप लगाइरहेको छ। झूटा प्रचार गरिरहेको छ। यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ,’ अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए। उनले राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा सत्तारूढ दलहरूले मिलेर उम्मेदवारी दिने सहमति गरेको पनि बताए। सत्तारूढ गठबन्धनलाई तोड्न नदिन आफूहरूले समन्वय समिति बनाउनुपरेको पनि उनले स्पष्ट पारे। अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताए।

‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ। अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छौं। दोसो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौं।

यसमा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नुपर्छ। कसैकसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारूढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन,’ उनले भने। अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

 

प्रतिक्रिया