नेकपा एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै

admin

काठमाडौँ, कात्तिक २७ : नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् ।

संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाइएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उदघाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम हुनेछ ।

महाधिवेशनले पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया