विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच एकता

admin

काठमाडौँ, कात्तिक २८ : राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ।

विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए।

पार्टी एकतापछि पनि पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने उनले बताए। सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान’ का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।

सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्।

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ।

प्रतिक्रिया