सुपारी कारोबारमा अर्बौंको खेल

admin

काठमाडौँ, मंसिर १ : तेस्रो मुलुकबाट सुपारी आयातमा अर्बौं रूपैयाँको चलखेल हुने गरेको पाइएको छ। नेपाली उद्योगका लागि भनेर ल्याएको सुपारी भारततर्फ निकासी गरी अर्बौं रूपैयाँ बढीको खेल हुने गरेको छ। स्रोतका अनुसार त्यसमा व्यापारीदेखि उच्च सरकारी अधिकारीको मिलेमतो रहेको छ।

सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ। सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी भारततर्फ निकासी हुने गरेको स्रोतको दाबी छ।

व्यापारीले नेपालबाट नौ हजार सात सय ७० मेट्रिक टन सुपारी निकासी गर्न वैधानिक अनुमति भए पनि अरू सुपारी चोर बाटोबाट भारत पठाउने गरेका छन्। २० हजार मेट्रिक टन सुपारी भारत निकासी गर्दा भन्सार शुल्क र जिएसटीबापत मात्र करिब दुई अर्ब ६२ करोड रूपैयाँ जोगिन्छ।

नेपालबाट भारत सुपारी निर्यात गर्दा तोकिएको परिमाणका लागि शून्य भन्सार भएकाले त्यसकै फाइदा उठाउँदै केही व्यापारीले विदेशबाट आयात गरेर नेपालमा उत्पादन भएको भन्दै भारत पठाउने गरेका छन्। भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जिएसटी प्रतिकिलो ८२ भारु ९१ सय ३१ रूपैयाँ २०पैसा० लाग्छ।

विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ। अन्य नाफाबाहेक किलोमै १ सय ३१ रूपैयाँ भन्सारमात्र फाइदा हुने भएपछि एक गिरोहले नेपालका उच्च सरकारी अधिकारीसँगको सेटिङमा तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारत पठाउने गरेका छन्।

शुभलाभ सुपारी प्रशोधन उद्योग झापाका प्रोप्राइटर अनिल भेटवाल विदेशबाट आयात हुने सुपारीमा अर्बौं रूपैयाँको खेल हुने बताउँछन्।

विदेशबाट आयात गरेर नेपालको उत्पादन भन्दै भारत पठाउने गरेको उनले बताए।‘सुपारीको भाग स्थानीयदेखि प्रधानमन्त्रीसम्म पुग्छ भन्ने सुनिएको छ,’ भेटवालले भने, ‘विदेशबाट सुपारी आयात गरेर तस्करी गरेर बिक्री गर्ने गिरोह नै सक्रिय छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया