अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन

admin

काठमाडौँ, मंसिर १ : सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवादबारे मुख खोलेका छन् ।

सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठकमार्फत सत्ता गठबन्धनमा आबद्ध पाँच दलले अदालतको विवादबारे ध्यानाकर्षण भएको भन्दै मुख खोलेका हुन् ।

‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, राज्यको महत्वपूर्ण अंगका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्छौं,’ बैठकपछि समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकबारे जानकारी दिँदै समितिका एक सदस्यले समन्वय समितिमा सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने विषयमा छलफल भएको बताए ।

‘अब अदालतको विवाद धेरै लम्ब्याउनुहुन्न भन्ने हो, यसमा गठबन्धन एक्सनमा नगए सरकारमाथि प्रश्न उठ्छ, यसतर्फ सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्छ,’ प्रधानमन्त्रीसमेत सहभागी बैठकमा नेताहरूबाट राखिएको धारणाबारे जानकारी दिँदै एक सदस्यले भने ।

बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अघि बढाइने निर्णय भएको जानकारी दिए ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवद्र्धनमा जोड दिने निर्णयसमेत गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया