महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

admin

काठमाडौँ, मंसिर २ : नेपालका प्रमुख राजनीतिक दलहरू महाधिवेशनमा होमिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका हुन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

नेकपा (एमाले)
विधानको विषय टुंग्याउन गत असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गरेको प्रमुख विपक्षी दल एमालेले यहि मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन गर्दैछ । यसअघि नीति र नेतृत्व एकैपटक चयन गरेको पार्टीले यसपटक भने विधान महाधिवेशन सकेर मात्रै महाधिवेशनको तयारीमा जुटेको छ ।

विधान महाधिवेशनमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन र विधान पास भइसकेकाले एमालेको अब सिधै नेतृत्व चयनका लागि निर्वाचन मात्रै हुनेछ । महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि छनोट भएका छन् ।

कोरोना कम भएसँगै चितवनमा एमाले नेताहरूको भीड बाक्लिन थालेको छ । महाधिवेशनको उद्घाटन नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र सौराहमा हुने एमालेले जनाएको छ । पार्टी विभाजित भएलगत्तै विधान महाधिवेशन गरेको एमालेमा अहिलेका अध्यक्ष केपी शर्मा ओलीनै पुनः अध्यक्ष बन्ने निश्चितजस्तै छ ।

ओलीलाई टक्कर दिने माधवकुमार नेपालले गत भदौ ९ मा औपचारिक रूपमा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेर एमालेबाट बाहिरिनुभएको छ । नेपाल नेतृत्वको पार्टी अहिले सरकारमा छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा ओलीलाई चुनौती दिने संकेत दिए पनि रावलले औपचारिक रूपमा उम्मेदवारी भने घोषणा गर्नुभएको छैन ।

एमालेले नेतृत्व चयनका लागि सयवटा भोटिङ मेसिनको प्रयोग गर्ने जनाएको छ । एमालेले नवौं महाधिवेशन २०७१ असारमा गरेको थियो ।

प्रत्येक पाँच वर्षमा महाधिवेशन हुनुपर्ने भए पनि २०७३ जेठमा एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि महाधिवेशनको कुरा पछि धकेलिएको हो । तर, गत फागुन २३ मा सर्वाेच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको पार्टीसँग मिलेको भन्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदियो ।

एमालेले दुई पार्टीबीच एकता भएको समयलाई शून्य अवधि मानेर महाधिवेशन गर्न लागेको हो । त्यो अवधि आगाामी बैशाखसम्मै रहेको भए पनि अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउनका लागि त्यसअघि नै महाधिवेशन सक्न लागिएको हो । महाधिवेशनका उद्घाटन स्थलको डिजाइनको काम सम्पन्न भइसकेको कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

नेपाली कांग्रेस
पटक–पटक १४ औँ महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले पछिल्लो पटक मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी समय तोकेको छ । कांग्रेसको महाधिवेशन भने काठमाडौंमा हुनेछ । कांग्रेसले २०७२ फागुन २० देखि २३ गतेसम्म १३ औं महाधिवेशन गरेको थियो ।

विधानअनुसार चार वर्षभित्र अर्थात् ०७६ फागुनभित्र १४ औँ महाधिवेशन भइसक्नुपर्ने थियो । तर, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान र संविधानले दिएको सुविधाको प्रयोग गरेर आफ्नो कार्यकाल लम्ब्याउँदै आउनुभयो । कोरोना महामारी र क्रियाशील सदस्यताका विवाद देखाएर कांग्रेस महाधिवेशन सार्ने काम भयो । यसबीचमा कांग्रेसले ५ पटक महाधिवेशन कार्यतालिका फेरबदल गर्यो ।

समयमै महाधिवेशन गर्न नसकेको कांग्रेसको वैधानिकतामा पार्टीभित्रैका नेताहरूले प्रश्न उठाएपछि कांग्रेस भदौ तेस्रो साताबाट वडा अधिवेशन मार्फत महाधिवेशनको घान हालेको हो ।

क्रियाशील सदस्यता विवाद रहेका केही जिल्लाका वडा अधिवेशन पनि बुधबार सकिएको छ । क्रियाशील सदस्यता विवाद नरहेका जिल्लाको वडा र गाउँ नगर अधिवेशन यस अघि नै सकिएको छ । हिमाली १३ र म्याग्दी गरेर १४ जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ ।

कांग्रेस महाधिवेशनमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुनेछ । १३ औँ महाधिवेशनमा सभापति बन्नुभएका देउवाले १४ औं महाधिवेशनमा पनि सभापतिमा दोहोरिने रणनीति अपनाउनु भएको छ । उता वरिष्ठ नेता पौडेलले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

विगतमा देउवालाई साथ दिएका नेता गोपालमान श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि पनि सभापतिका दाबेदारका रूपमा अघि बढेका छन् ।

त्यसैगरी पौडेल पक्षका नेता कल्याण गुरुङ र प्रकाशमान सिंहले पनि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । सिंह देश दौडाहामा लाग्नुभएको छ । दुवै पक्षका नेताहरूको ध्यान मंसिर ६ गते हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवशेनमा केन्द्रित छ ।

अधिवेशनबाट कांग्रेसका ४ हजार १ सय २४ महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यसैगरी प्रवास र भातृ संस्थाबाट समेत गरेर ४५ सय प्रतिनिधि पुग्नेछन् । त्यसअघि मंसिर ३ गते प्रदेश सभा क्षेत्रिय अधिवेशन हुनेछ ।

मंसिर १० मा बाँकी जिल्लाको अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ भने मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुनेछ । कांग्रेसले महाधिवेशनमा नेतृत्व मात्रै छनोट गर्नेछ ।

कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले अब कांग्रेस महाधिवेशन कुनै पनि हालतमा नसर्ने ईमेजखबरसँग बताउनुभयो । मंसिरपछि हिमाली र पहाडी जिल्लामा हिउँ र चिसो बढ्ने भएकाले अब पछिल्लो पटक तय गरिएको मितिमा नै महाधिवेशन सम्पन्न हुने यादवको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
पटक–पटक महाधिवेशनको मिति सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि मंसिरको ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्दैछ ।

२०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो ।

त्यतिबेला एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने बताइए पनि कोरोना महामारीको कारण देखाउँदै महाधिवेशन सारियो । कुनै प्राकृतिक विपत्ति आइनलागे अब चाहिँ महाधिवेशन नसर्ने राप्रपाका नेता राजाराम श्रेष्ठले ईमेजखबरलाई बताउनुभयो ।

११ गते महाधिवेशन गर्ने तयारीमा रहेको राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट भने गरिसकेको छैन । प्रतिनिधि छनोट मंसिर ३ देखि ५ गतेसम्म सक्नेगरी कार्यतालिका तय गरिएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले राप्रपामा कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन अध्यक्ष हुनुहुन्छ । महाधिवेशन पछि भने एक जनामात्रै अध्यक्ष रहनेछन् ।

राप्रपामा अध्यक्षका लागि थापा, राणा, डा.लोहनी, राजेन्द्र लिङ्देन, धवल शमशेर राणा र जगत गौचनले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

तर, औपचारिक घोषणा भने भएको छैन । २०७४ को निर्वाचनपछि राप्रपा संसदमा खुम्चिएको छ । त्यसअघि सरकार बनाउने र गिराउने हैसियतमा रहेका राप्रपाले २०७४ को निर्वाचनमा संघीय संसदमा एक सिटमात्रै जितेको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी
एमाले, कांग्रेस र राप्रपाको महाधिवेशन सकिए लगत्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुनेछ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । काठमाडौमा हुने सम्मेलनअघि वडा, गाउँ/नगरपालिका, प्रदेशस्तरीय लगायतका भेला र बैठक सम्पन्न गर्ने माओवादीको तयारी छ ।

त्यस्तै, एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । तर, मिति भने तय भइनसकेको नेता प्रेमल खनालले बताउनुभयो ।

उता, जनता समाजवादी पार्टी(जसपा)ले पनि महाधिवेशन गर्ने तयारी गरेको छ । तर, उसले पनि मिति भने तय गरेको छैन । २०७९ मंसिरसम्म तीनै तहको नियमित निर्वाचन सक्नुपर्नेछ । आगामी फागुनबाट स्थानीय तहको निर्वाचन सुरु गर्नुपर्ने हुन्छ ।

स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचन २०७४ मा भएको थियो । त्यतिबेला स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ मा भएको थियो । संघीय संसद र प्रदेश सभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा भएको थियो । त्यसकारण तीनै तहको निर्वाचन अघि दलहरूले पार्टी नेतृत्व चयनका लागि दौडधुप गरेका हुन् ।

प्रतिक्रिया